काठमाडौं,
पुस २४ ।
विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२६ मा नेपालबाट सञ्जु भट्टले प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता यही जनवरी २२ देखि ३० सम्म संयुक्त राज्य अमेरिकाको लस भेगासमा आयोजना हुँदैछ ।
मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि उहाँको स्थानमा सञ्जु भट्टलाई नेपालको प्रतिनिधिका रूपमा चयन गरिएको मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेन्मेन्टका सिईओ निशु कान्त झाले जानकारी गराउनुभयो ।
उहाँको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताका आधारमा मिसेस वल्र्डका लागि छनोट गरिएको आयोजकले जनाएको छ । सञ्जु भट्ट रिबन इन्टरटेन्मेन्ट प्रालिद्वारा केहीअघि राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२५ प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ को उपाधि विजेता हुनुभएको थियो ।
प्रतियोगिताको तयारी स्वरूप मिसेस नेपाल भट्टले विभिन्न अनुभवी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट व्यक्तित्व विकास, र्याम्प वाक, पब्लिक स्पिकिङ, फिटनेस तथा ग्रुरुमिङसम्बन्धी प्रशिक्षण लिइरहेकी छन् । उहाँले प्रतियोगितामा प्रस्तुत गर्ने राष्ट्रिय पोशाक (नेशनल कस्ट्युम) को डिजाइन आईआईएफटी नेपालद्वारा तयार पारिंदै छ भने अन्य विभिन्न चरणमा प्रयोग हुने पहिरन सेन्ट्रल फेशन स्कुल तथा अन्य प्रख्यात फेसन डिजाइनरसँगको समन्वयमा व्यवस्थापन गरिएको छ ।
यसअघि नेपालबाट पृथिविया थापा र दीक्षा केसीले मिसेस वल्र्डमा सहभागिता जनाइसक्नुभएको छ । यसपटक सञ्जु भट्टले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान थप मजबुत बनाउने अपेक्षा आयोजकले व्यक्त गरेका छन् ।






