काठमाडौं,
पुस २२ ।
नेपाल फिल्म क्याम्पसको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहयोगमा ‘चलचित्र कथा-लेखनसम्बन्धी एक दिने आधारभूत कार्यशाला’ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा आयोजना गरिएको थियो ।
कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको कार्यशालामा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया (एफटिआइआई)बाट पोष्ट-ग्र्याजुएट अध्ययन पूरा गर्नुभएका तथा हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू तथा लेखन प्रक्रियाबारे सैद्धान्तिक र व्यावहारिक जानकारी दिइएको थियो ।
आयोजकका अनुसार कार्यशालाप्रति उल्लेख्य रुचि देखिएको र ठूलो संख्यामा नाम दर्ता भएकाले माघ र फागुन महिनामा दोस्रो तथा तेस्रो चरणको कार्यशाला सञ्चालन गरिनेछ । साथै, सहभागी प्रशिक्षार्थीहरूले पेश गरेका कथाहरूमध्येबाट उत्कृष्ट १० जनाको छनोट गरी उनीहरूका लागि पटकथा लेखनसम्बन्धी विशेष कार्यशाला आयोजना गरिने जानकारी दिइएको छ ।
कार्यशालाको समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष डिसीले यस्ता कार्यशालाहरूले नयाँ पुस्तालाई सिर्जनात्मक रूपमा सक्षम बनाउँदै नेपाली सिनेमा क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कथा र पटकथा सशक्त भएमा नेपाली चलचित्रको स्तर अझ उचाइमा पुग्ने धारणा व्यक्त गर्नुभयो ।






