विश्वप्रसिद्ध तबला वादक पं.डा.निशिकान्तको‘च्यारिटी म्युजिक कन्सर्ट शो’ सम्पन्न

काठमाडौं,
पुस २२ ।

विश्वप्रसिद्ध तबला वादक पं.डा.निशिकान्त सोनवलकरको अगुवाइमा आयोजित ‘च्यारिटी म्युजिक कन्सर्ट शो’ काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सन्तुर वादनमा युवा कलाकार युवान तोडी, सीतारमा ईश्वरी खड्का तथा तानपुरामा दिनेश खड्काले सहभागिता जनाउनुभएको थियो । करिब ७५ भन्दा बढी संगीतप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा उत्तर भारतीय शास्त्रीय संगीतको उच्चस्तरीय प्रस्तुति गरिएको थियो ।

पं.सोनवलकरले १६ ताल टीन्तालमा आधारित तबला एकल प्रस्तुति गर्दै शास्त्रीय लय, ताल संरचना र रचनात्मक पक्षहरूलाई व्याख्यानात्मक शैलीमा प्रस्तुत गर्नुभएको थियो । उहाँको सजीव प्रस्तुति दर्शकका लागि शास्त्रीय संगीतको गहिरो अनुभूति बनेको सहभागीहरूले बताए ।

तबलाको एकल प्रस्तुतिपश्चात् जुगलबन्दी कार्यक्रम प्रस्तुत गरिएको थियो । जुगलबन्दीमा डुन स्कुल, देहरादुनमा अध्ययनरत युवान तोडीले सन्तुर वादन प्रस्तुत गर्नुभयो भने सीतारमा ईश्वरी खड्काको साथले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रम वरिष्ठ दन्त सर्जन डा.नील पाण्डेको आयोजनामा सम्पन्न भएको हो । कन्सर्टबाट संकलित सम्पूर्ण आम्दानी नेपालका ग्रामीण क्षेत्रहरूमा दन्त स्वास्थ्य शिविर सञ्चालन गर्न प्रयोग गरिने आयोजकले जनाएका छन् ।

सरोदवादक दिनेश खड्काको संयोजनमा सम्पन्न उक्त च्यारिटी शोले शास्त्रीय संगीत, सामाजिक उत्तरदायित्व र सेवाभावलाई एकसाथ जोड्न सफल भएको सहभागीहरूको भनाइ छ । पं.सोनवलकरले शास्त्रीय परम्परा, आधुनिक शिक्षाशास्त्र र सामाजिक सेवामा योगदान दिने आफ्नो दृष्टिकोण यस कार्यक्रममार्फत पुनः प्रमाणित गर्नुभएको छ । दर्शकहरूले कार्यक्रमको सांगीतिक उत्कृष्टता, प्रस्तुति शैली र सामाजिक उद्देश्यको खुलेर प्रशंसा गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार