काठमाडौं,
पुस २१ ।
चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा राख्ने उद्देश्यले नेपाली चलचित्रका पोस्टर (डिजिटल तथा फिजिकल) संकलन कार्य सुरु गरेको छ । स्वदेशी चलचित्रको इतिहास, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित बोर्डले नेपाली चलचित्रका पोष्टरहरू समेटिएको विशेष प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनीका लागि बोर्डले चलचित्र निर्माता, निर्देशक तथा सम्बन्धित सरोकारवालालाई आफू सम्बन्धित चलचित्रका पोष्टर उपलब्ध गराउन सूचना जारी गर्दै अनुरोध गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार नेपाली चलचित्रका पोष्टरहरू केवल प्रचार सामग्रीमात्र नभई चलचित्र इतिहास र समयको महत्वपूर्ण अभिलेख हुन् । ‘यस्ता सामग्रीको संरक्षण तथा सार्वजनिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई नेपाली चलचित्रको यात्रासँग परिचित गराउनु बोर्डको मुख्य उद्देश्य हो,’ अध्यक्ष डिसीले बताउनुभयो ।
बोर्डले सम्बन्धित सबै चलचित्रकर्मी तथा अधिकार प्राप्त व्यक्तिहरूलाई आगामी मंगलबारभित्र आफू संलग्न चलचित्रका पोष्टरहरू डिजिटल वा फिजिकल स्वरूपमा उपलब्ध गराई यो महत्वपूर्ण कार्यमा सहयोग गर्न आग्रह गरेको छ । पोष्टर संकलन तथा थप जानकारीका लागि चलचित्र विकास बोर्डले तोकिएका व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।






