काठमाडौं,
पुस ४ ।
चलचित्र विकास बोर्डको सहयोग तथा मगर चलचित्रकर्मी संघको आयोजनामा एक महिनासम्म सञ्चालन हुने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रमको उद्घाटन मंगलबार नेपाल पुन मगर समाज, तल्लो गगनगौडामा भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभाकी उपसभामुखको प्रमुख आतिथ्यमा भएको थियो ।
चलचित्र विकास बोर्डले यस वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष २०८२’ घोषणा गर्दै स्थानीय चलचित्रकर्मीको क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । तालिमको सहजीकरण नेपाल पुन मगर समाजका उपाध्यक्ष देव चोचाङी मगरले गर्नुहुनेछ ।
उद्घाटन समारोहमा नेपाल पुन मगर समाज, मगर चलचित्रकर्मी संघ, गुरुङ चलचित्र, आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल मगर पत्रकार संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा मगर चलचित्रकर्मी संघका अध्यक्ष विश्वास आले मगरले अध्यक्षता गरेका थिए भने स्वागत मन्तव्य भुपेन्द्र रिखाम मगरले राख्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरूले आदिवासी जनजाति तथा मातृभाषी चलचित्रको प्रवद्र्धन, चलचित्र विकास बोर्डमा चलचित्र दर्ता र स्थानीयस्तरमै सीप विकासका अवसरहरूबारे धारणा प्रस्तुत गरेका थिए । संघका निवर्तमान अध्यक्ष भीम राना मगरले फोटो तथा भिडियोमार्फत आत्मनिर्भर बन्न सकिने सम्भावनाबारे जोड दिनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि अपरिहार्य भएको उल्लेख गर्दै यस्ता तालिम तथा कार्यक्रमलाई बोर्डले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बोर्डका अनुसार, विगतमा पनि आदिवासी जनजाति तथा मातृभाषी चलचित्रकर्मीहरूको तालिम, कार्यशाला र चलचित्रसम्बन्धी कार्यक्रमहरूमा सक्रिय सहकार्य र सहयोग गर्दै आएको छ । यस पहलले स्थानीय प्रतिभा पहिचान, प्रविधिमैत्री सीप विकास तथा सांस्कृतिक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






