यस्तो छ ‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर

काठमाडौं,
मंसिर १० ।

यही मंसिर १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै यो टिजर सार्वजनिक गरेको हो ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान टिजरमा हटाएको छ ।

चलचित्रको मुख्य पात्र नै कसरी अपहरणकारी बन्छ भन्ने सस्पेन्सको कथा सिनेमाले भन्ने संकेत टिजरले गरेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा हुनुहुन्छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्युः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहनुभएको छ । चलचित्रको लाइन प्रोड्युसरमा जीवन शाक्य रहनुभएको छ ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन छ।

यसमा तपाइको मत

अन्य समाचार