आज विश्व शौचालय दिवस विविध कार्यक्रमबीच मनाइँदै

काठमाडौं
मंसिर ३ ।

आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।

शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ । विश्वव्यापी दिगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तरराष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो ।

सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार