काठमाडौं,
कात्तिक २७ ।
आगामी माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’टिमले दुईवटा पोष्टर सार्वजनिक गरेको छ । बुधबार निर्माण टिमले चलचित्रको कथावस्तु झल्काउने गरिको दुईवटा पोष्टर सार्वजनिक गरेको हो ।
‘बा आमाले पसिनाले घर बनाउनुभयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’ भन्नै स्लोगन राखिएको छ । यस शब्दले पनि आमा-बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ । एउटा पोष्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त, साइग्रेस पोखरेल खुशीमुन्द्रामा देखिनुहुन्छ । अर्को पोष्टरमा भने सबै भावुक छन् । श्रीमान् श्रीमतीको भूमिकामा रहेको विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भूमिकामा रहनुभएका पल शाहको रगताम्य देखिएको छ ।
ग्रामीण परिवेशमा आधारित यो चलचित्रले आमा-बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्नुभएको हो । निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो चलचित्रमा आर्या पन्तको प्रस्तुति छ ।
चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतमलगायत रहनुभएको छ । चलचित्र ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना निर्माता हुनुहुन्छ भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहनुभएको छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती रनुभएको छ । चलचित्रको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहनुभएको छ । यो चलचित्रको विदेश प्रदर्शन अधिकार केही देशमा बिक्रीसमेत भइसकेको छ । चलचित्रलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अष्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ । आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको यो चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलको छ ।






