काठमाडौं,
कत्तिक ८ ।
चलचित्र ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो । काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो ।
शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ ।
‘दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहनु भएको छ । हेर्ने अधिकांश दर्शकले नेपाली मौलिक कथासहितको चलचित्र भन्दै हेर्नैपर्ने चलचित्र भन्नु भएको छ’, निर्देशक पौडेलले भन्नुभयो, ‘चलचित्रले दर्शको मन जित्न सफल भएको छ । जसरी काठामाडौंका दर्शकले चलचित्र मनपराइदिनुभयो, त्यस्तै मोफसलका दर्शकले पनि उत्कृष्ट चलचित्र भएको बताइरहनु भएको छ ।’
निर्देशक पौडेलले धेरै शो हाउसफूल भएका र हाउसफूल नभएका शोमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिनुभयो । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।
रिलिजको पहिलो दिन देखिनै यो चलचित्रले हाउसफूल दर्शकहरूको साथ पाउँदै आइरहेको छ भने कतिपय हलहरूमा ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ ।
राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । ‘वरिष्ठ बलराम’को अकुपेन्सी राम्रो भएपछि केही हलहरूले आज शनिवारलाई शोमा समेत थप गरेका थिए ।
पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल हुनु र दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिति उच्चसँगै हाउसफूल हुनुले चलचित्रको राम्रो वर्ड अफ माउथ बनेको बुझाउँछ ।
दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको सकारात्मक रिभ्यु पाएसँगै चलचित्रको निर्माण पक्ष व्यापारप्रति आशावादी देखिएको छ ।
चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेख्नुभएको हो । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी। घिमिरे हुनुहुन्छ भने लाइन प्रोड्युसरमा राम विष्ट रहुनु भएको छ ।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो ।






