काठमाडौं,
असोज ३१ ।
भारतीय र नेपाली चलचित्रकर्मीको सहकार्यमा निर्माण हुनलागेको चलचित्र ‘मोना लिसा (ब्लडी लभ)’को थिम क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोष्टर सार्वजनिक गरिएको यस चलचित्रको नयाँ पोस्टरले फिल्मको कथा-विषयवस्तु र मुख्य पात्रहरूको झलक प्रस्तुत गरेको छ ।
बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्र नेपालमै भव्य स्तरमा निर्माण हुने तयारीमा छ । निर्माण टिमका अनुसार चलचित्र हिन्दी र नेपाली दुबै भाषामा निर्माण हुनेछ र सांगीतिक पक्ष पनि यी दुई भाषामा नै प्रस्तुत गरिनेछ ।
चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने हुनुभएको छ । हाल चलचित्र प्रि–प्रोडक्सन चरणमा रहेको र कलाकार छनोटको प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ । यो चलचित्र २०२५ को अन्त्यतिर फ्लोरमा जाने र २०२६ मा प्रदर्शन गर्ने लक्ष्य लिइएको निर्माण पक्षले जानकारी दिएको छ । निर्माण पक्षका अनुसार, ‘मोना लिसा (ब्लडी लभ)’ एक यस्तो प्रेमकथा हो जसले प्रेमकै लागि युद्धको अवस्था सिर्जना कसरी हुन्छ भन्ने विषयलाई पर्दामा उतार्नेछ ।






