आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्ने

काठमाडौं,
असोज २७ ।

आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर-६ मा आएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । नेपाल लगातार चौथो जितको खोजीमा छ ।

यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुुँदा नेपालले दुई तथा कतारले एक खेल जितेका छन् । अपराजित नेपालको सुपरसिक्समा चार अंक भएको छ भने कतार अंकविहीन छ ।

सुपर-६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर-६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन् ।

अब यो चरणमा हुने १२ खेलपछि शीर्ष तनि स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । नेपालले बुधबार ओमानसँग खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ ।

यसमा तपाइको मत

अन्य समाचार