काठमाडौं,
असोज २७ ।
आगामी कात्तिक १४ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘परान’ले एक विशेष काव्यिक टिजर सार्वजनिक गरेको छ । अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको टिजर कवि नवराज पराजुलीको भावनात्मक शब्द र उहाँकै आवाजमा प्रस्तुत गरिएको छ ।
टिजरमा कवि पराजुलीका मार्मिक शब्दमार्फत जीवनको उत्तरार्धमा रहेका एक बाबुको मनोभावनालाई मुख्यरूपमा उतारिएको छ । ‘यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन’ भन्ने आवेगपूर्ण पंक्तिले बाबु र छोराबीचको आत्मीय सम्बन्धको गहिरो भाव उजागर गर्छ । कवितामार्फत बाबु आफ्नो छोरासँग जीवनको अन्तिम घडीसम्म साथ पाउने अपेक्षा व्यक्त गर्छन् ।
यस्तो छ कविताः-
‘जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।’
यो चलचित्रमा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ । टिजरले बाबु-छोराबीचको संवेदनशील सम्बन्ध, त्यसको सामाजिक हैसियत, तथा जीवनका विभिन्न मोडमा उत्पन्न हुने परिस्थितिहरूको चित्रण गर्ने संकेत दिएको छ ।
‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा तयार भएको यो चलचित्र उहाँको डेब्यु निर्देशन हो । रिदम कँडेलको संगीत, शिवराम श्रेष्ठको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर समावेश गरिएको छ । गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको यो चलचित्रले पारिवारिक दर्शकको मन जित्ने विश्वास लिइएको छ ।






