काठमाडौं,
असोज १२ ।
नेपाल सङ्गीत कल्याण कोषको आयोजनामा विजया दशमी, नेपाल सम्वद, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको छ । कोषका अध्यक्ष रमेश पाठकले सभापतित्व गर्नुभयो सो समारोहमा वरिष्ठ सङ्गीतकार राजु सिंह प्रमुख अतिथि रहनुभएको थियो भने सञ्चारकर्मी गीता अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
यस अवसरमा प्रमुख अतिथि सङ्गीतकार सिंह तथा गीतकार तथा प्राज्ञ पुरु लम्सालले नेपाली सङ्गीतको क्षेत्रमा संस्थाले अझ उल्लेखनीय योगदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नभएको थियो । त्यस्तै, अध्यक्ष पाठकसँगै कोषका पदाधिकारी गायक रामकृष्ण श्रेष्ठ, संगीतकार विनोद पछाई र गायक चेतन राईलगायतले कोषका गतिविधिबारे जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कला, सङ्गीत, संस्कृति र पर्वलाई आपसमा जोड्ने सन्देश दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले कलाकारहरूको मनोबल वृद्धिसँगै सांस्कृतिक एकता र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा कोरियोग्राफररमोडल कृष्ण रसाल, निर्देशक टेक छिरिङ लामा, नृत्य निर्देशक पारस अधिकारी, कलाकार शिला गजुरेलसहितका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।






