काठमाडौं,
असोज ७ ।
चलचित्र ‘परान’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको पोष्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित हुनुहुन्छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रको यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीलाई चित्रित गर्दै पोष्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरमा उहाँ शंख फुक्दै गरेको अवस्थामा हुनुहुन्छ ।
‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ । जसले चलचित्रको मूल सन्देश एकअर्काको साथको महत्वलाई जोड दिएको आंकलन गर्न सकिन्छ ।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा चलचित्र निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रञ्जित आचार्यले बताउनुभयो । दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पार्नुभएको हो ।
चलचित्रमा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारहरूको अभिनय छ ।
निर्देशक आचार्यको शब्द, रिदम कँडेलको संगीत रहेको यस चलचित्रका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिनुभएको छ । चलचित्रका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुनुहुन्छ भने अजय उपाध्याय कार्यकारी निर्माता रहनुभएको छ ।
यो फिल्म तिहारलगत्तै कात्तिक १४ (अक्टोबर ३१) देखि सिनेमाघरमा आउँदैछ । निर्माण टिमले आगामी फूलपातीको अघिल्लो दिन आइतबार चलचित्रमा समावेश एक गीत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।






