काठमाडौं,
असोज ६ ।
‘फाइट फर लाइफ’ नेपाल संस्थाले नेपाल सांकृतिक संघ, डिल्लीबजारमा बृद्धहरूको लागि निःशुल्क मोतिया बिन्दु शल्यक्रियाको लागि ‘एक टिकट एक उज्यालो’ कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथिमा डा. किशोरराज प्रधान रहनुभएको थियो । कार्यक्रममा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा मिस नेवाः प्रलिसा शाक्य, नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपाध्यक्ष जिबेश्वरलाल श्रेष्ठ, कामपा ३१ वडा अध्यक्ष सरोज ढकाल, पूर्वआइजीपी सिंहबहादुर श्रेष्ठ, विभिन्न लायन्स क्लबका प्रतिनिधिलगायतको उपस्तिथि थियो ।
कानुनविद् प्रवीन प्रधान, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत दुई सय बढीको उपस्थिति रहेको सो कार्यक्रममा मिस नेवाः प्रसिद्धि शाक्यले गणेश नाच, मिस लिटिल नेवाः नयना शाक्यले स्केट डान्स, गायक श्याम गलेन्जुलगायतले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । मिस नेवाः सकिनाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा नेवारी भोजको आयोजना गरिएको थियो ।






