काठमाडौं,
असोज ३ ।
चलचित्र ‘परान’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रको बिहीबार फष्र्टलुक सार्वजनिक गर्दै कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो । सार्वजनिक पोष्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अञ्जना बराइलीलाई देख्न सकिन्छ । पोष्टरमा दुबै एकअर्काको अंगालोमा छन् । र, अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ । यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन । पोष्टरमा महेश केही गम्भीर मुद्रामा हुनुहुन्छ भने अञ्जना उहाँको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत हुनुभएको छ ।
चलचित्र ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ राखिएको छ, जसले चलचित्रको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ । यसले जीवनमा भौतिक अस्तित्व (सास)भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ ।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यो चलचित्र निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा यो चलचित्र निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रञ्जित आचार्यले जानकारी गराउनुभयो । चलचित्रमा अभिनेता नीर शाह प्रमुख भूमिकामा हुनुहुन्छ । साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारहरूको अभिनय छ ।
दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पार्नुभएको हो । रिदम कँडेलको संगीत रहेको यस चलचित्रका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिनुभएको छ ।






