काठमाडौं,
असोज २ ।
यही असोज १३ गते फूलपातीदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलहरूमा एकसाथ रिलिज हुनेभएको छ । चलचित्रलाई आहाना पौडेलले अमेरिकामा वितरण गर्न लाग्नुभएको हो । पौडेलले अमेरिकामा यो चचित्र नेपालकै मितिमा लाग्ने जानकारी दिनुभयो । उहाँको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० हलहरूमा चलचित्र रिलिज गर्न लागेको हो ।
पौडेलका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिंटन डीसी, भर्जिनिया, उटाहलगायतका सहर र राज्यमा यो चलचित्र लाग्नेछ ।
त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाजलगायत चेनमा चलचित्र रिलिजको तयारी भइरहेको आहानले जानकारी दिनुभयो । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो चलचित्र दिपेन्द्र के खनालले निर्देशन गर्नुभएको हो । चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सीता न्यौपाने, दिव्य देवलगायतका कलाकारको अभिनय छ ।






