काठमाडौं,
भदौ २२ ।
विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड-२०२५’ का लागि अन्तिम चरणमा पुगेका ३० जना प्रतिस्पर्धीलाई काठमाडौंमा ट्याग नम्बर र स्यास प्रदान गरिएको छ । नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सम्पन्न ‘स्यासिङ सेरोमनी’ मा देशका विभिन्न जिल्लाबाट अडिशनमार्फत चयन भएका महिलाहरूले औपचारिक परिचय प्रस्तुत गरेका थिए ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इञ्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कानुन व्यवसायी, महिला अधिकारकर्मी, समाजसेवीदेखि पाइलटसम्मका महिलाहरू प्रतिस्पर्धामा छन् ।
चितवनकी सञ्जु भट्ट, खोटाङकी इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीकी कञ्चन झा, ललितपुरकी श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुधाथोकी, कुसुम खड्का र श्रीजना विष्ट, विराटनगरकी पूजन ढकाल, काभ्रेपलाञ्चोककी अरुणा लामा, नेपालगञ्जकी एलिना केसी, सुदूरपश्चिमकी विद्या चौहान, रामेछापकी निर्मला सुनुवार, लुम्बिनीकी तारा खनाल र रक्षा पन्त, इटहरीकी दीपिका तामाङ, तेह्रथुमकी सुम्निमा खापुङ, कीर्तिपुरकी बिनिता अधिकारी, नवलपरासीकी गंगा लामिछाने, स्याङ्जाकी विष्णु भण्डारी, मकवानपुरकी सरस्वती विश्वकर्मा, काठमाडौंकी सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरकी सुभाना रोक्का र झापाकी करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धामा पुग्नुभएको हो ।
कार्यक्रममा विद्यार्थी कलाकारले नृत्य प्रस्तुति दिएका थिए भने गायक तथा संगीतकार ओम सुनार र गायिका जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नुभएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराइएको छ । कोरियोग्राफर आश्विनीकान्त झा, सन्दीप भुजेल, आइना गजुरेलसहित प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वका विज्ञहरूको सहभागिता रहनेछ ।
विजेताले अमेरिकामा हुने मिसेस वर्ल्ड-२०२५मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसअघि-२०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्की विजयी हुनुभएको थियो । थापाले मिसेस वल्र्ड २०२३ मा ह्युम्यानिटेरियन अवार्ड जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बढाउनुभएको थियो । आयोजकका अनुसार यस संस्करणलाई पनि अन्तर्राष्ट्रिय उचाइमा पु¥याउने तयारी गरिएको छ ।






