काठमाडौं,
भदौ १३ ।
चलचित्र ‘धागो’ को प्रदर्शन मिति तय भएको छ । उदिप राणा थापा निर्देशित यो चलचित्र आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो । चलचित्रले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ ।
डुवर्सको चिया बगानमा जन्मे-हुर्कनुभएका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी-फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ । यद्यपि फिचर चलचित्रको रूपमा भने ‘धागो’ उहाँको पहिलो हो ।
उदिपले ‘धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ । ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो । यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु ।’
यस चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सुरक्षा पन्त, भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनुहुनेछ ।
साथै चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गर्नुभएको छ ।
चलचित्रको छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले गर्नुभएको हो । ‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो । चलचित्रको निर्मातामा उमा थापा, उत्तम थापा र उदीप थापा रहनुभएको छ भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री हुनुहुनुन्छ ।
‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने यस चलचित्रले सीमामा बाँधिएका नेपालीहरूको जीवन र भावनात्मक धागोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।






