काठमाडौं,
भदौ १३ ।
रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको गीतमा गायिका सञ्जिवनीको स्वर छ । ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द तथा स्वर्गीय जयदेवको संगीत छ ।
यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली चलचित्रको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी तथा उहाँको टिमले पुनः बजारमा ल्याएको हो ।
आगामी असोज १३ गते बडादशैँको फूलपातीका दिन यो चलचित्र रिलिजमा आउँदैछ । गीतको भिडियोमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी तथा श्यामाश्री शेर्पाले आकर्षक नृत्य गर्नुभएको छ । उहाँहरूलाई दर्जनौंँ कोरस कलाकारहरूले नृत्यमा साथ दिएका छन् ।
मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ । कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुनुहुन्छ । भिडियोको कोरियोग्राफी लोभलाग्दो छ । लोकेशन र छायांकन पक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेशन छनोट गरिएको छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको चलचित्रमा रामशरण पाठकको लेख्नुभएको छ ।
यो चलचित्रमा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको चलचित्रले दर्शकको माया पाउने विश्वास गरिएको छ ।
यसैबीच, यो गीतको भिडियो प्रतियोगिताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि दुई मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई पाँच लाख नगद पुरस्कार दिने घोषणा चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले गर्नुभएको छ । गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडियो बनाउन सक्नेछन् ।






