काठमाडौं,
भदौ ११ ।
काठमाडौंमा सम्पन्न अडिसनपछि ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतिभाशाली प्रतियोगी फाइनल चरणमा प्रवेश गरेका छन् । अडिसनमा ९० भन्दा बढी बालबालिका र युवा गायन, नृत्य, अभिनयलगायतका विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगीताको इभेन्ट डाइरेक्टर रमेशजंग शाहीका अनुसार, प्रतियोगिताले नेपाली बालबालिका र युवाहरूलाई आफ्नो कला, सिर्जनशीलता र प्रतिभा विश्वस्तरमा प्रस्तुत गर्ने अवसर दिनेछ । प्रतियोगिताका विजेताले आगामी अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता र फेशन वीकको सातौं संस्करणमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछन् । प्रतियोगीताको कोरियोग्राफर रोजिन शाक्य र नेशनल डाइरेक्टर प्रमिला सिलवाल रहनुभएको छ ।
‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’ विश्वभरका बालबालिका र युवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने प्रतिष्ठित कार्यक्रम हो, जसले गायन, नृत्य, अभिनय, मोडलिङ र वाद्यवादनसमेतका प्रतिभाहरूलाई विश्वसामु प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ ।
प्रतियोगीताको विजेता छनोट चरण आगामी भदौ १४ गते आयोजना हुने पहिलो राष्ट्रिय ट्यालेन्ट शोमार्फत हुनेछ । विजेताको निर्णय जीनोमार्फत हुने सार्वजनिक मतदान र निर्णायकको मूल्यांकनको आधारमा गरिने आयोजकले जनाएको छ ।






