काठमाडौं,
भदौ ९ ।
हरेक वर्ष तीजको अवसरमा आयोजना हुने छायाँछवि तीज म्युजिक अवार्डको १२औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति र संगीतको पर्वका रूपमा परिचित यस अवार्डमा यसवर्ष १८ विधामा अवार्ड, ६ सम्मान तथा एक विशेष पुरस्कार प्रदान गरिएको छ ।
गतवर्ष स्थापित ‘छायाँछवि दिपाशा स्मृति पुरस्कार’ यसवर्ष मोडल कलाकार सञ्चिता शाहलाई प्रदान गरिएको छ । ११ हजार रुपैयाँ राशिको यो पुरस्कार गतवर्ष मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
त्यसैगरी, तीजको अवसरमा छायाँछवि तीज म्युजिक अवार्डमार्फत ६ जना नारी कलाकारहरूलाई सम्मान गरिएको छ । सम्मानित कलाकारहरूमा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारिका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता रानामगर र अप्सना नेवा हायु रहनुभएको छ । साथै, तीज नारी सम्मानअन्तर्गत अमेरिकामा बसोबास गर्ने गायिका सुशीला बस्नेत तिमिल्सिनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ ।
अवार्ड तथा सम्मान विशिष्ट अतिथिहरू चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्ड अध्यक्ष शान्तिप्रिय र अवार्ड संयोजक कृष्णा आचार्य रोशनीले प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य तथा गायन प्रस्तुति पनि रहेको थियो । आर्या कोइराला र डिम्पल नगरकोटीले नृत्य प्रस्तुत गर्नुभएको थियो भने अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा उत्कृष्ट तीज गीत एरेन्जर विपिन आचार्य ‘आइपुग्यो तीज’, उत्कृष्ट तीज गीत ध्वनि मिश्रण मनोज परियार ‘तीजका गीत कस्ता’, उत्कृष्ट तीज गीत छायाँकार मुकेश हुमागाईं ‘बारुले कम्मरको ठुम्का’, उत्कृष्ट तीज गीत सम्पादक सुजन कोइराला ‘चोली फाटेको’, उत्कृष्ट तीज गीत मोडल (पुरुष) भुवन के पोखरेल ‘माइत बरीलै’, उत्कृष्ट तीज गीत मोडल (महिला) स्मारिका ढकाल ‘काली पसम कि’, उत्कृष्ट तीज गीत नृत्य निर्देशक श्रीजन बराल ऋषि ‘कट्टि कट्टि र उत्कृष्ट तीज गीत भिडियो निर्देशक जेरी भण्डारीले ‘काली पसम कि’बाट अवार्ड प्राप्त गर्नुभयो ।
यस्तै, उत्कृष्ट तीज गीत शब्द जनक रावल ‘तीज आयो साथी संगी’, उत्कृष्ट मौलिक तीज गीत शब्द यामप्रसाद निउरे ‘चोली फाटेको’, उत्कृष्ट तीज गीत लय भावना आचार्य ‘सोच सोच’, उत्कृष्ट मौलिक तीज गीत लय योगेश काजी ‘मलाई हेरी हेरी’, उत्कृष्ट तीज दोहोरी गीत गायक रामचन्द्र काफ्ले ‘सोच सोच’, उत्कृष्ट तीज दोहोरी गीत गायिका सुजाता के.सी ‘सासुको तीज’, उत्कृष्ट तीज गीत युगल गायन नम्रता तामाङ÷बबी नेम्वाङ लिम्बु÷निलम रोक्का कार्की ‘किन्दिने हो कल्ले’, उत्कृष्ट तीज गीत गायिका जुनु गौतम ‘आइपुग्यो तीज’ उत्कृष्ट मौलिक तीज गीत गायिका रेखा शाह ‘मलाई क्या माया’ र इनकरेजमेन्ट अवार्ड गायिका पुजन काफ्ले ’छड्के तिलहरी’बाट प्राप्त गर्नुभयो ।
सञ्चारकर्मी दीप ज्योतिले सहजीकरण गरेको समारोहमा छायाँछिविका अध्यक्ष शान्तिप्रियले अवार्डको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।






