‘माग्ने राजा’लाई दर्शकको साथ, प्रतिक्रिया बुझ्न सिनेमा हलमा केदार र वर्षा

काठमाडौं,
भदौ ८ ।

चलचित्र ‘माग्ने राजा’ले शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाउन सफल भएको छ । चलचित्रमा दर्शक देखिएपछि निर्देशक ऋषि लामिछाने ‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नुभएको छ । कलाकारसहित निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले चलचित्रले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजीसमेत गर्ने गरेका थिए । जसले गर्दा दर्शकमाझ उहाँको क्रेज कति छ भन्ने जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । अभिनेता केदार घिमिरे पनि आफू भुइमान्छेलाई दर्शकको यस्तो आर्सीवादले उत्साहित बनाएको बतानुहुन्छ । त्यससँगै आगामी दिनमा अझै राम्रो चलचित्रमा काम गर्नु पर्ने चुनौती थपिएको उहाँको बुझाई छ ।

चलचित्र वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको हो । उहाँले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वासमा हुनुहुन्छ । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउनुहुन्छ । ‘मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ । परिवार नै बसेर हेर्न मिल्ने चलचित्र रहेकाले तीजपछि हलमा पारिवारिक माहौल अझ बढ्ने विश्वास छ,’ लामिछानेले भन्नुभयो ।

मुनाल घिमिरेको निर्माण रहेको चलचित्रले मनोरञ्जन र सन्देशलाई सन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । ‘छक्का पन्जा’ सिरिज बाहिर आएर पहिलो पल्ट सोलो अभिनेताको रूपमा चलचित्रलाई हाँक्नुभएका केदारको कमेडीलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् । चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि केदार घिमिरेको यात्रालाई मज्जाले साथ दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार