काठमाडौं,
भदौ ४ ।
ओजस थिएटर, रातोपुल काठमाडौंको प्रस्तुति तथा लुम्बिनी रङ्गमञ्चको स्थानीय व्यवस्थापनमा हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक बुटवलमा एक सातासम्म सफलतापूर्वक मञ्चन गरी कलाकारहरूको टोली हालै काठमाडौं फर्किएको छ ।
उपन्यासलाई नाट्यरूप दिने कार्य तथा निर्देशन सागर कार्कीले गर्नुभएको हो । नाटकमा समाजको यथार्थ, चेतना र वर्गीय द्वन्द्वलाई मार्मिक ढंगले प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पायो ।
नाटकमा मदन थापा, जे.बी डीसी, सानु पाण्डे, रिता थापा, कल्पना थापा, रश्मि गुरुङ, आशिष श्रेष्ठ, समीर आचार्य, सागर कँडेल, विप्लव खड्का, उज्वल कुलुङ राई, युगल लिम्बु, श्याम कार्की, गोविन्द खडका र स्नेहा पाण्डेले अभिनय गर्नुभएको थियो । विशेषगरी डा. गोदत्तको भूमिका निर्वाह गर्नुभएका जेबीको सशक्त अभिनयले दर्शकको मन जितेको थियो ।
नाटकमा प्रवृत्ति राई, युगल लिम्बु र प्रदीप विश्वकर्माले पार्श्व सङ्गीतमा योगदान दिनुभएको थियो । प्रकाश व्यवस्थापनमा सागर कार्की र उज्वल कुलुङ राई सक्रिय हुनुहुन्थ्यो भने सेट निर्माणमा उज्वल कुलुङ राई, प्रदीप विश्वकर्मा, श्याम कार्की र सागर कार्कीको भूमिका रहेको थियो । भेषभूषा तथा शृङ्गारको जिम्मेवारी रिता थापाले वहन गर्नुभएको थियो ।






