काठमाडौं,
भदौ १ ।
चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रको टिजरले देशभक्ति, क्रोध र न्यायको भावलाई उठान गरेको छ । यस वर्षको बडादशैँको फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्रको टिजरमा अभिनेता सौगात मल्ल मसाल बोकेर उभिएको दृश्यबाट सुरुवात हुन्छ । त्यस्तै, अभिनेता हेमन्त बुढाथोकी राजसी पहिरनमा देखिनुभएको छ भने अर्पण थापा सशक्त नेताको भूमिकामा प्रस्तुत हुनुभएको छ ।
अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्र बनेको छ । ‘जब ती निर्दोषका घाँटी रेटिन्छन्… अब त्यस्तो युग पुरुष जन्मिँदैन ?’ भन्ने उहाँका शब्दसँगै निर्देशक सेन स्वयं आदिवासी पात्रका रूपमा देखिनुभएको छ । ‘एक्सन किङ’का रूपमा प्रस्तुत अभिनेता समीर भट्टले दमदार एक्सन दृश्य प्रदर्शन गर्नुभएको छ । उहाँका संवाद र भिडन्तको दृश्यलाई टिजरको आकर्षण मानिएको छ ।
टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान’ केवल चलचित्र नभई नेपालीको मनमा दबिएको विद्रोहको स्वर रहेको बताउनुभएको छ । ‘तीन वर्षको रगत पसिना र माटोको सुगन्धले जन्माएको ‘बलिदान’ न्यायको विष्फोट हो’, उहाँले भन्नुभएको छ ।
यसअघि, अभिनेता भट्टको जन्मदिनमा सार्वजनिक प्रि–टिजर युट्युबमा नेपालसहित दर्जनभन्दा बढी मुलुकमा ट्रेन्डिङमा परेको थियो । प्रचार अभियानअन्तर्गत देशभर ‘बलिदान ब्यानर’ पनि सञ्चालन गरिएको छ ।
आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहनुभएको छ । चलचित्रलाई नेपाली सिनेमामा साहसी प्रयासका रूपमा स्मरण गरिने अपेक्षा गरिएको छ ।






