काठमाडौं,
साउन १९ ।
हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहनुभएकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । घिमिरेले सीता हाल उपचाररत रहेको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगी, उहाँसँग प्रत्यक्ष भेट गरेर सहयोग रकम प्रदान गर्नुभएको हो । यस अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी हुनुभएको थियो ।
‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेको भनाइ थियो । उहाँले यस संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गर्नुभयो । एमस नेपाल इन्टरनेशनलका तर्फबाट आयोजक झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग सद्भावना र प्रेरणादायी रहेको बताउनुभयो ।
हास्य कलकार घिमिरेले केहीअघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेशनल सुवेदीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो । विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचारमा रहनुभएकी सीताले २०२३ मा एमस नेपाल इन्टरनेशनलको ताज जित्नुभएको थियो ।






