काठमाडौं,
साउन १८ ।
गीतकार डा.तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत ‘दिनमा पनि रातमा पनि…’ सार्वजनिक गरिएको छ । यो गीतमा स्वर र संगीत विष्णु अधिकारीको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.नवराज लम्सालले उक्त गीत सार्वजनिक गर्नुभएको हो । उहाँले गीतमा सघन चेतना प्रवाह भएको बताउनुभयो । यो गीत चोटहरूको संग्रह भएको उहाँले टिप्पणी गर्नुभयो ।
सोही अवसरमा ‘सुगम संगीत ः आस्था र अवस्था’ विषयमा संगीतका अनुसन्धाता डा.विष्णु दाहालले प्रवचन दिनुभएको थियो । दाहालले गीतसंगीतमाथि विहंगम अभिव्यक्ति दिँदै सुगम संगीतलाई सबैले मन पराउने जिकिर गर्नुभयो । संगीत समयानुसार परिवर्तन हुँदै गएको उहाँको भनाइ थियो । तर, कालान्तरमा सुगम संगीतले नै श्रोताको मन जित्ने उहाँले बताउनुभयो । युवापुस्तालाई सुगम संगीतबारे जानकारी गराइनुपर्नेमा उहाँले जोड दिनुभयो ।
समीक्षक डा.गीता त्रिपाठीले यो गीतमा सरल शब्दमा गहिरो संवेदना लुकेको बताउनुभयो । संगीतकार राजु सिंहले गीतमा ‘नोट’हरूको राम्रो प्रयोग भएको बताउनुभयो । यो ‘स्वीट ब्लुज’ गीत भएको उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा गीतकार धुर्कापानीले गीत लेख्दाको अनुभव सुनाउनुभयो । गायक तथा संगीतकार अधिकारीले शब्दलाई संगीतबद्ध गर्दाको क्षण सबैसँग साझा गर्नुभएको थियो । यो गीत विष्णु अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत आएको छ ।






