असोजको पहिलो हप्तामा ‘जारी २’

काठमाडौं,
साउन १७ ।

उपेन्द्र सुब्बाको निर्देशित चलचित्र ‘जारी २’को सिनेमाघरमा आउने मिति तय गरिएको छ । चलचित्रको तीनवटा पोस्टर सार्वजनिक गर्दै असोज ३ गतेलाई रिलिज मिति तोकिएको हो ।

सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवै पोस्टरमा उनीहरूलाई खुसी मुद्रामा देख्न सकिन्छ ।

एक पोस्टरमा दयाले च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बू पहिरनमा देख्न सकिन्छ । दया र मिरुनासहित पोस्टरमा बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ ।

सार्वजनिक भएका तीनै पोस्टरले लिम्बू समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुनुहुन्छ । चलचित्रमा दया, मिरुना, विजय तथा बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई, सिर्जना निङ्लेखु लगायतका कालाकारको अभिनय छ ।

यो ब्ल्कबस्टर चलचित्र ‘जारी’ को सिक्वेल हो । २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार