काठमाडौं,
साउन १३ ।
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’मा नवअभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित हुनुभएको छ । भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला सिजन १४ का उत्कृष्ट आठमा परेका अनिकेतलाई अडिसनमार्फत चयन गरिएको निर्देशक चाम्सले जानकारी दिनुभयो । नयाँ भए पनि आत्मविश्वास र प्रस्तुति शैलीका कारण उहाँ चयन भएको चाम्सको भनाइ छ ।
‘सुम्निमा’मा अनिकेतसँगै उपासना सिंह ठकुरी, कुन्साङ बमजन र अनुपविक्रम शाही पनि अनुबन्धित भइसक्नुभएको छ । गोर्खा फिल्म्स र चाम्स इन्टरटेनमेन्टको सहनिर्माणमा बन्ने फिल्मको छायांकन नेपाल र लण्डनमा आगामी अगस्टदेखि सुरु हुने तयारी छ । निर्देशक चाम्सले चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गरिने बताउनुभयो ।






