काठमाडौं,
साउन १० ।
देउकी प्रथाको कथामा बनेको चलचित्र ‘मोहर’को प्रचारमा नेपाली समाजमा सामाजिक रूपान्तरणका पक्षमा सक्रिय संस्था जेसीआई नेपाल सहयोग गर्ने भएको छ । यथार्थपरक सामाजिक कथावस्तुमा आधारित चलचित्र भएकोले प्रचारमा सहकार्य गरिएको जेसीआईले जनाएको छ ।
चलचित्र निर्माण कम्पनी फिल्ममेकरस् प्रालि. र जेसीआईबीच शुक्रवार यस विषयमा सम्झौता भएको हो । यो सहकार्य अन्तर्गत जेसीआई नेपालले देशभरका आफ्ना युवाहरूको सञ्जालमार्फत चलचित्र ‘मोहर’लाई प्रचारमा सहयोग गर्नेछ ।
नेपाली समाजमा अझै अस्तित्वमा रहेको देउकी प्रथा जस्तो सामाजिक विकृतिमाथि आधारित चलचित्रले प्रेम, विछोड र बदलाको कथासँगै गहिरो सामाजिक सन्देश दिने अपेक्षा निर्देशक ओम प्रतिकले बताउनुभयो ।
चलचित्र पल शाह, बेनिशा हमाल, नीति शाह लगायतका कलाकारहरूको मुख्य भूमिका छ । चलचित्रको लेखन निर्देशक प्रतिकले नै गर्नुभएको हो । चलचित्र यही साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
यस सहकार्यबारे जेसीआई नेपालकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापा भन्नुहुन्छ, ‘सामाजिक रूपान्तरणका लागि सिर्जनात्मक माध्यमहरू अत्यन्त प्रभावकारी हुन्छन् । फिल्म ‘मोहर’ मार्फत उठान गरिएको विषयवस्तुले युवा पुस्तालाई सोच्न बाध्य बनाउनेछ । यस्तो अर्थपूर्ण प्रयाससँग सहकार्य गर्न पाउनु हामी जेसीआई नेपालका लागि गौरवको विषय हो ।’
चलचित्रमा लक्ष्मी गिरी, अर्जुनजंग शाही, सारा शर्मा लगायतका कलाकारको समेत अभिनय छ । चुम्बनजंग शाही निर्माता रहेको यो चलचित्रमा दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन तथा सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगी को सङ्गीत छ ।






