काठमाडौं,
साउन १० ।
चौथो संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्डका लागि गीत दर्ता खुला गरिएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति र शुभकामना मिडिया सोलुसनको आयोजनामा हुने नयाँ संस्करणका लागि तीज गीत दर्ता खुला गरिएको हो ।
सुरुमा ‘शिवशक्ति तीज म्युजिक अवार्ड’का रूपमा स्थापना भएको यस अवार्डलाई दोस्रो संस्करणदेखि ‘अनलाइन मिडिया म्युजिक खबर’ले ब्राण्डिङ गर्दै आएको छ । अवार्ड आयोजक समितिकी अध्यक्ष सविता पोखरेलका अनुसार अवार्डमा उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिनेछ ।
उहाँका अनुसार यस समारोहमा सांगीतिक क्षेत्रमा मौलिकता बोकेर योगदान पुर्याउने तीन नारी स्रष्टालाई ‘त्रिदेवी संगीत सम्मान’द्वारा विशेष सम्मान पनि प्रदान गरिनेछ । अवार्ड वितरण कार्यक्रम आगामी भदौ ५ गते काठमाडौंको गोंगबुस्थित बिजी बैंक्वेट हलमा आयोजना गरिनेछ ।
अध्यक्ष पोखरेलले तीज फेस्टिभलका अवसरमा दर खुवाउने कार्यक्रम पनि आयोजना गरिने जानकारी दिनुभयो । ‘तीजका अवसरमा थुप्रै गीतहरू सार्वजनिक हुने गरेका छन् । सांस्कृतिक पर्व तीजको एउटा विशेषता गीत-संगीत पनि हो । त्यसैले तीजको मर्म बोकेका सिर्जना र स्रष्टालाई सम्मान गर्न यो अवार्ड सुरु गरिएको हो,’ उहाँले भन्नुभयो ।
अवार्डका लागि साउन ३१ गतेसम्म आफ्ना तीज गीतहरू दर्ता गर्न सकिने बताइएको छ । इच्छुक स्रष्टाहरूले म्युजिक खबरको कार्यालय, सामाखुसीमा गई फाराम बुझ्न सक्नेछन् भने एभेन्टोज डटकममार्फत् डिजिटल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ ।






