रिताको ‘आमा मेरी आमा’लाई श्रोता/दर्शकको साथ (भिडियोसहित)

काठमाडौं
साउन ९ ।

रिता बुढाथोकीको स्वरमा रहेको तीज गीत ‘आमा मेरी आमा’ ले सार्वजनिक भएको दुई सातामै युट्युबमा ५० हजारभन्दा बढी भ्युज पाएको छ । गीत गायिका बुढाथोकीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

दण्डपाणि पाण्डेको शव्द-सङ्गीत, राकेश सोनीको संगीत संयोजन र सञ्जय श्रीपालको मिक्सिङ/मास्टरिङ रहेको गीतमा सहगायनमा महेश्वरी रास्कोटी र गीता सेञ्चुरीको स्वर पनि सुन्न सकिन्छ ।

भिडिओ मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको हो । वीरेन्द्र भाट ‘विपिन’ को सिनेमाटोग्राफी, सम्पादन र क्रिएटिभ निर्देशन रहेको भिडिओमा सन्जना गुरुङ, वीरमा खड्का, मुकेश नेपाली लगायत दर्जनौं कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

गीतमा आमासँग लामो समयदेखि टाढिएकी चेलीको मनोभाव मार्मिक ढंगले प्रस्तुत गरिएको छ । तीजको मौलिक मर्म झल्काउने गीतले श्रोता/दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । करिब पाँच दर्जनभन्दा बढी गीतमा स्वर दिनुभएकी गायिका बुढाथोकी ‘दोहोरी साँझ’ की चर्चित प्रस्तोता पनि हुनुहुन्छ ।

गीतसंगीतसँगै रिता बुढाथोकी खेलकुद र वादन कलामा पनि सक्रिय हुनुहुन्छ । युवा अवस्थामा भलिबल र फुटबल खेलाडीको रुपमा चर्चित रहनुभएकी उहाँ केही महिनाअघि आयोजित महिलाको मादल वादन प्रतियोगितामा तेस्रो हुनुभएको थियो । उहाँले नेवारी, तामाङ सेलो, टप्पा, सालैजो, हुड्केली लगायत थुप्रै भाषाभाषाका गीतहरूमा समेत स्वर दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार