‘जेरी अन टप’को फष्र्टलुक पोष्टर सार्वजनिक

काठमाडौं,
साउन ९ ।

तिहारको अवसरमा असोज ३१ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘जेरी अन टप’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले बिहीबार एकसाथ तीनवटा पोष्टर सार्वजनिक गर्दै चलचित्रको प्रचार थालनी गरेको हो ।

सार्वजनिक पोष्टरमा प्रमुख कलाकार अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ फिचर्ड हुनुहुन्छ । पोष्टरका पृष्ठभूमिहरूले चलचित्रको कथा संकेत गरेका छन्, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अवतारमा देखिनुभएको छ । अर्को पोष्टरमा अनमोल दुवै अभिनेत्रीहरूसँग रोमान्टिक मुद्रामा हुनुहुन्छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गर्छ ।

सुयोग गुरुङ निर्देशित यो चलचित्रमा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रमा अनमोलका पिता भुवन केसीले पनि उहाँको बुबाकै भूमिका निर्वाह गर्नुभएको छ । निर्माता सरोज न्यौपानेले बिहीबार सार्वजनिक पोष्टरलाई सुरुवातमात्र बताउँदै चलचित्रका विभिन्न सरप्राइज क्रमशः सार्वजनिक गर्दै लैजाने जानकारी दिनुभएको छ ।

चलचित्रको छायांकन सगरमाथा आधारशिविर, काठमाडौं, मुस्ताङलगायत स्थानमा गरिएको हो । रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो चलचित्रको कथा हेमराज बिसीले लेख्नुभएको हो । कार्यकारी निर्माता अनुराधा गिरी र ईश्वर श्रेष्ठ रहनुभएको छ भने एसोसिएट निर्माता नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का हुनुहुन्छ । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ । पटकथा विश्वास तिम्सिनाले लेख्नुभएको हो भने छायांकन दुलिप रेग्मीको छ ।

अन्तर्राष्ट्रिय बजार (अष्ट्रेलियाबाहेक)मा चलचित्रको वितरण अधिकार हङ्कङको एलजी एसोसिएट्सले खरिद गरेको छ । नेपालमा भने रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार