राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको रक्तदान

काठमाडौं,
साउन ५ ।

वर्षायाम सुरु भएसँगै बाढी-पहिरोलगायत प्राकृतिक विपत्तिबाट हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तथा पछिल्लो समय देखिएको रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा राजधानीको अनामनगरस्थित सामाजिक विकास भवनमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, नेपाल फलफूल थोक व्यवसायी संघ, यशोदा ग्रुप अफ इन्डस्ट्रिज (करेन्ट नुड्ल्स)र माइलस्टोन इन्फ्रास्टक्चर इन्जिनियरिङ कन्सल्टेन्सीको सहकार्यमा सम्पन्न कार्यक्रममा सयौंको संख्यामा रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी प्रमुख तथा विशिष्ट गीतकार एआईजी टेक तामाङ, नायक धीरेन शाक्य, संगीतकर्मी कस्तुप पन्त, गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार नरहरि प्रेमी, गायक सिडी विजय अधिकारी, निर्देशक माधवराज खरेल, सञ्चारकर्मी सुमन पण्डित, सविता पोख्रेललगायत नेपाली कलाकारिता क्षेत्रका दर्जनौं स्रष्टा, गायक, संगीतकर्मी, सञ्चारकर्मी, प्राविधिक, समाजसेवी, जनप्रतिनिधि, खेलाडी, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता थियो ।

रक्तदातालाई धन्यवाद ज्ञापन गर्दै एयोशा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष तथा समाजसेवी चुन्ना पौडेल, एआईजी टेक तामाङ, प्रतिष्ठानका अध्यक्ष नारायण बी.थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मालगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानका महासचिव तथा कार्यक्रम संयोजक सनम कठायतका अनुसार स्वास्थ्य संवेदनशीलतालाई प्राथमिकता दिँदै प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक तथा रचनात्मक अभियानलाई निरन्तरता दिनेछ ।

कार्यक्रममा वरिष्ठ संगीतकार चेतन सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी संकलन समाजका सचिव वसन्त सापकोटा, गीतकार शंकर अधिकारी ‘घायल’, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकु, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राप्ती समाजका अध्यक्ष गोविन्दमधुर आचार्य, पत्रकार तथा गीतकार डब्बु क्षेत्री, प्रतिष्ठानका सल्लाहकार रविन्द्र बराल, रमेश दाहाल, डा.ओमकृष्ण प्रसाईंलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार