काठमाडौं,
असार २५ ।
सरोज पौडेल निर्देशित चलचित्र ‘कोशेढुंगा’ को छायांकन सम्पन्न भएको छ । ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले ५१ दिनमा चलचित्रको छायांकन सक्नुभएको हो । चलचित्रको छायांकन मकवानपुरको चित्लाङ, मार्खु, स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र ललितपुरको च्यासलस्थित सेटमा गरिएको थियो । निर्माण पक्षका अनुसार यो चलचित्र भदौ १२ गते नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आउनेछ ।
‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्नेछ । नेपाली चलचित्र इतिहासमै पहिलोपटक कुनै चलचित्र एकैपटक ४० देशमा प्रदर्शनमा आउन लागेको जनाइएको छ ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको ‘कोशेढुंगा’मा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारको अभिनये छ । चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुनुहुन्छ भने कार्यकारी निर्माता दिनेश खड्का रहनुभएको छ ।






