काठमाडौं,
असार २३ ।
अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा नेपाल-भारत फ्रेन्डसिप वेलनेस सेमिनार सम्पन्न भएको छ । नेपाल र भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ बनाउन र स्वास्थ्य तथा वैकल्पिक उपचार प्रणालीप्रति जनचेतना फैलाउन ‘नेपाल-भारत फ्रेन्डसिप वेलनेस सेमिनार’ सफलतापूर्वक सम्पन्न भएको हो ।
गौशाला, पिङलास्थानस्थित होटल बद्रीनाथ, काठमाडौंमा असार २१ र २२ गते दुई दिनसम्म आयोजना भएको यस अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल र भारतका उच्चपदस्थ विशिष्ट अतिथि, चिकित्सक, कलाकार र बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानेन्द झा रहनुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता संहिता शास्त्री गुरू अर्जुनप्रसाद बास्तोलाले गर्नुभएको थियो । विशिष्ट अतिथिहरूमा पूर्व मन्त्री यदुवंश झा, भारतकी चलचित्र नायिका क्षशा अग्रवाल, मुम्बईका वरिष्ठ निर्देशक डा. रणवीर लैश्राम, नेपालका सुप्रसिद्ध निर्देशक तुलसी घिमिरे र भारतका एक्युपञ्चर चिकित्सक डा. सन्तोषकुमार पाण्डे (महाराष्ट्र) रहनुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्यमा आयोजक संस्थाका अध्यक्ष प्रदीप खनालले नेपाल र भारतको धार्मिक, सांस्कृतिक र स्वास्थ्य चेतनाको क्षेत्रमा सहयोगको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भमा यसको आवश्यकताबारे चर्चा गर्नुभएको थियो । ‘नेपाल र भारतको सम्बन्ध केवल राजनीतिक र कूटनीतिक मात्र होइन, यसमा हजारौँ वर्ष पुरानो साझा आध्यात्मिक र सांस्कृतिक नाता समेटिएको छ । यसलाई स्वास्थ्य र मानव सेवा जस्ता विषयमा जोड्न अत्यन्त आवश्यक छ’, उहाँले भन्नुभयो ।
कार्यक्रमको सञ्चालन निर्देशक तुलसी घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा डा. सन्तोषकुमार पाण्डेले एक्युपञ्चर चिकित्सा, ऊर्जा सन्तुलन, प्राकृतिक उपचारका वैज्ञानिक पक्ष र लाभबारे महत्वपूर्ण प्रवचन दिनुभएको थियो । यसैगरी, इशा अग्रवालले महिला सशक्तिकरण, स्वास्थ्य र आत्मविश्वासका विषयमा मन्तव्य दिँदै नेपाली संस्कृतिप्रति गहिरो सम्मान प्रकट गर्नुभएको थियो ।
कार्यक्रमपछि आयोजित स्वास्थ्य शिविरमा सात सयभन्दा बढी नागरिकहरूले डा. पाण्डे र उहाँकी टोलीबाट एक्युपञ्चर, सुजोक र अन्य वैकल्पिक उपचार सेवाहरूबाट निःशुल्क स्वास्थ्य लाभ लिएका थिए ।
समग्र कार्यक्रमको परिकल्पना, अतिथि समन्वय, अन्तर्राष्ट्रिय साझेदारी, व्यवस्थापन र सञ्चार संयोजनमा प्रदीप खनालको नेतृत्वकारी भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । उहाँले ४५० भन्दा बढी धार्मिक तीर्थहरूको दर्शन गरी अन्तरधार्मिक र अन्तरदेशीय संवादमा सक्रियतापूर्वक भाग लिनुभएको छ ।
‘नेपाल–भारती फ्रेन्डसिप वेलनेस सेमिनार’ले स्वास्थ्य, संस्कृति, सद्भाव र सहयोगको आदानप्रदानमार्फत नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने कार्य गरेको आयोजकले जनाएको छ । यस्ता प्रयासहरूले जनस्तरमा कूटनीतिकता, सांस्कृतिक कूटनीति र स्वास्थ्य सशक्तिकरणको मजबूत आधार तयार गर्दैजाने आयोजकको भनाइ छ ।






