काठमाडौं,
असार ८ ।
कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान-२०२५’ द्वारा पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । शृङ्खलाद्वारा शनिबार काठमाडौंमा आयोजित समारोहमा उहाँ पुरस्कृत तथा सम्मानित हुनुभएको हो । समारोहमा उहाँलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, कविवर तथा मुन्धुमविद् बैरागी काइँलाले दोसल्ला तथा सम्मानपत्र अर्पण गरी नगद पचपन्न हजार पाँच सय पाँच रुपैयाँसहित पुरस्कृत तथा सम्मानित गर्नुभएको थियो ।
समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले नेपाली कविता-काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभयो । काइँलाले शशीले देश-विदेशमा रहेका कवि-लेखकहरूलाई विभिन्न माध्यमबाट स्थापित गराउन महत्वपूर्ण सहयोग गरी विशिष्ट योगदान दिएको भन्दै उच्च प्रशंसा गर्नुभयो । ‘अरुका लागि जस्तोसुकै सहयोग गर्न तयार प्रतिभा शशीलाई आज हङकङ साहिहित्यक साझा शृङ्खलाले पुरस्कृत तथा सम्मानित गरेर सराहनीय कार्य गरेको छ’, उहाँले भन्नुभयो । सो अवसरमा काइँलाले नेपाली साहित्यको श्रीबृद्धिमा डायस्पोरामा रहेका साहित्यकारहरूले सिर्जनाका माध्यमबाट विशिष्ट योगदान दिएको बताउनुभयो ।
प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताउनुभयो । ‘कविता लेखनका अतिरिक्त अन्य लेखकहरूका कृतिको सम्पादन, विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिनुभएको छ । स्थापित पुरस्कार तथा सम्मान पहिलो पटटक उहाँलाई अर्पण गरेर संस्था स्वयं सम्मानित भएको छ’, उहाँले भन्नुभयो ।
समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक÷साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको गुनसो गर्नुभयो । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा सभाध्यक्ष गुरुङको जोड थियो ।
शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवद्र्धनका निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण यासेली योङहाङले गर्नुभएको थियो ।






