‘महाभोज’ को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र

काठमाडौं,
जेठ ३ ।

‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गतेदेखि सिनेमाघरमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको पोस्टरमा ‘महाभोज’ का प्रमुख तीन जना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने हुनुहुन्छ ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ ।
दयाहाङले दौरा(सुरुवाल, ढाका टोपी, र माला लगाउनुभएको छ । उहाँको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिनुहुन्छ । यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिनुहुन्छ । यी तीनै पात्रको अनुहारको भावनाले चलचित्रमा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ ।

यो चलचित्रका निर्देशक दिनेश राउत हुनुहुन्छ, जसको निर्देशन शैली सशक्त सामाजिक सन्देश र कथा प्रस्तुतीकरणमा आधारित हुन्छ । उहाँको यो आठौँ चलचित्र हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुनुहुन्छ । चलचित्रको कथा तथा पटकथा सुवेदीले लेख्नुभएको हो ।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय छ ।
‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार