काठमाडौं,
वैशाख २२ ।
नेपालभाषाको वाङमय क्षेत्रमा सकृय नेवारहरूको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यही वैशाख २७ गते शनिबार नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान सम्मेलन गर्ने भएको छ । एकेडेमीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा मात्र नभई सीमित हुन नहुने भन्दै पहिलो पटक प्रविधि र शिल्प ज्ञानको विषयमा सम्मेलन आयोजना गर्न लागिएको अकाडेमीका चान्सलर मल्ल के सुन्दरले पत्रकार भेटघाटमा जानकारी दिन्भयो ।
चान्सलर मल्लका अनुसार सो सम्मेलनमा नेवाः काष्ठकला र शिल्पको विषयमा वास्तुकलाविद् सृजना प्रजापति, नेवाः खेती प्रणालीका बारेमा विज्ञ बुद्धिबहादुर डंगोल र नेवाः बस्ती र शहरी योजनाबारे इन्जिनियर पद्मसुन्दर जोशीले कार्यपत्र प्रस्तुत गर्ने भएको छ । त्यस्तै, चान्सलर मल्ल स्वयंले नेवाः सभ्यता र ज्ञान विषयक मुख्य अवधारणागत पत्र प्रस्तुत गर्नेछन् ।
नेवाः समुदायभित्र साहित्य संस्कृति संगीत र कलाको मात्र नभई ज्ञान र प्रविधिको भण्डार रहेको तथ्य स्थापित गर्ने लक्ष्यले सम्मेलन गर्न लागिएको चान्सलर मल्लको भनाइ छ । नेवाः समुदाय भाषिक, सांस्कृतिकसँगै विद्यमान ज्ञान र प्रविधिको हिसाबले एउटा सभ्यता हो । ‘यसलाई प्रमाणित गर्न बाँकी छ । यही दिशामाको प्रस्थान बिन्दुको रुपमा यस बारे सम्मेलन गर्न लागिएको हो,’ उहाँले भन्नुभयो ।
नेवाः समुदायमा प्रचलित धातुकला, हात र खुट्टा दुखेमा परम्परागत रुपमा मसाज गर्ने प्रविधि लगायत विषयमा क्रमशः सम्मेलन गर्दैजाने पनि एकेडेमीको योजना रहेको छ ।
नेवाः समुदाय विशेषतः भाषा लिपि कला, साहित्य, संस्कृति र सम्पदालाई केन्द्रविन्दु बनाएर मात्र कार्यक्रम गर्दे आएकोमा यस पटक प्रविधिलाई लिएर हुन लागिएको यो सम्मेलनलाई नौलो रुपमा हेरिएको छ ।
सम्मेलनमा प्राध्यापकत्रय संगीता सिंह, विमप्रसाद श्रेष्ठ र अञ्जना सिंहले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुने छ । काठमाडौं महानगरपालिका सँगको सहकार्यमा राष्ट्रिय सभागृहमा हुने सो सम्मेलनको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने बताइएको छ ।






