काठमाडौं,
वैशाख १८ ।
आज १३६औँ विश्व मजदुर दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा यो दिवस मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभर मनाइँदै छ । नेपालमा विसं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो । तर, २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो । उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ ।






