चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न, जितु नेपाल र केकी अधिकारी उत्कृष्ट

काठमाडौं,
वैशाख ८ ।

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ । शनिबार सम्पन्न महोत्सवमा जीतु नेपाल चलचित्र ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जित्नुभएको छ । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकारी घोषित हुनुभयो । उहाँले चलचित्र ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पार्नुभएको हो ।

गोसाईंकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ बिहीबारबाट सुरु भई ६ गते शनिबार सकिएको अवार्डमा अभिनेता प्रदीप खड्काले चलचित्र ‘पुजार सार्की’बाट बेष्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरी खड्का, बेष्ट कल्चर फिल्म तामाङ ‘एप्लेङ ना नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्का फिल्म प्याकुलीबाट प्राप्त गर्नुभयो । बेष्ट सर्ट फिल्म ‘मा कामरातो’बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’बाट सबिर श्रेष्ठ, बेष्ट फिल्म ‘अञ्जली’बाट प्रेम श्रेष्ठले अवार्ड जित्नुभयो ।

फेस्टिभलमा बेष्ट सम्पादक भरत रेग्मी चलचित्र ‘पूजार सार्की’, बेष्ट छायांकन शिवराम श्रेष्ठ चलचित्र ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स ‘अञ्जली’, जुरी मेन्सन अवार्ड ऋषिराजा आचार्य चलचित्र ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक बसन्त निरौला चलचित्र ‘ज्वाइँ साब’, बेष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जित्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

महोत्सवमा साना र ठूला गरेर २२ चलचित्र प्रदर्शन गरिएको थियो । दर्जनौँ चलचित्रकर्मी र रंगपत्रकारको समेत सहभागिता महोत्सवको समापन ३० औँ वन्यजन्तु सप्ताह, चौथो गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला चलचित्र प्रदर्शन गर्दै महोत्सव सुरु भएको थियो । पहिलो दिन वैशाख ४ गते ‘अञ्जीला’सँगै ‘पूजार सार्की’, ‘ज्वाइँ साव’, ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँले महोत्सवले गाउँ गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दीपक लामालाई नगद पाँच हजार ५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ चलचित्रका निर्माता नवीन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार