जनचेतनामूलक गीतको भिडियो ‘भुलको बाटो’ सार्वजनिक

काठमाडौं,
वैशाख ४ ।

लागु औषध तथा लागुपदार्थ दुर्ब्यसनी सम्बन्धी जनचेतनामूलक गीतको भिडियो ‘भुलको बाटो’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच कुबेर तामाङले निर्देशन गरेको गीतको भिडियो प्रमुख अतिथि बरिष्ठ सङ्गीतकार राजु सिंह र अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कलाकार, गीतकार तथा चलचित्र बिकास बोर्डका पूर्व सदस्य उत्तम केसी, कलाकार पवन केसी, चलचित्र निर्देशक रामशरण कोइराला लगायतले सार्वजनिक गर्नुभएको थियो ।
मेघ सुवेदीको भिडियो सन्देशबाट कार्यक्रम सुरुवात भएको थियो । कार्यक्रममा बोल्दै निर्देशक कुबेर तामाङले अग्रज र समकालीन कलाकार र प्राबिधिकसँग काम गर्दा सबैको साथ र सहयोग पाएको सुनाउनुभयो ।

कलाकार केसीले प्रारम्भका दिनमा आफूले कुबेर तामाङलाई फोटोग्राफरको रूपमा चिनेको भएपनि उहाँ राम्रो निर्देशक पनि भएको बताउनुभयो । गीतको भिडियो सान्दर्भिक र सन्देशमुलक बनेको बताउँदै उहाँले कलाकार, सिनेम्याटोग्राफर अनि प्राविधिक टिमको प्रशंसा गर्नुभएको थियो ।

यस्तै गीतकार संघका अध्यक्ष तथा गीतकार थापाले ‘भुलेको बाटो’ गीतले सान्दर्भिक र समसामयिक बिषयलाई मार्मिक ढङ्गले उठाएको बताउनुभयो ।

कार्यक्रमको अन्तिममा बोल्दै प्रमुख अतिथि सिंहले अहिले नाच्ने गीतहरू मात्र आइरहेको सन्दर्भमा कथासहित गीत बनाएकोमा निर्देशक तामाङको प्रशंसा गर्नुभयो । ‘म त कुबेरजीको फ्यान नै भए । राम्रो गीत बनेको छ, सिंगो टिमलाई बधाई दिन चाहन्छु’, उहाँले भन्नुभयो ।

सिसन लिम्बूले सहजिकरण गरेको कार्यक्रममा बरिष्ठ सङ्गीतकार सिंह, कलाकार केसी, गीतकार संघका अध्यक्ष थापा र म्युजिक भिडियोका सबै कलाकारलाई सम्मान गरिएको थियो ।

मनु खड्काको निर्माण रहेकोे ‘भुलको बाटो’ गीतमा गीतकार स्याडो रियल, गायक किरण भुजेल र गायिका श्रेया राई, संगीतकार डि आर यस क्षेत्री, मिक्सिङ तथा मास्टरिङमा किशोर थापा र एरेञ्ज सुनिल राईको छ । भिडियोको छांयाकन रामशरण उप्रेतीले र सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो । भिडियोमा सन्जित भण्डारी, रश्मि भट्ट, दीपा शाही, मेघ सुवेदी, ऋचा थापा, आयुशा कार्की लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार