काठमाडौं,
फागुन १६ ।
नृत्य निर्देशक एवं नृत्य निर्देशक संघ, नेपाल युरोप शाखाका अध्यक्ष सुनिल गिरी ‘राष्ट्रिय नृत्य निर्देशक सम्मान’ बाट सम्मानित हुनुभएको छ । बिरिसु मिडिया प्रा.लि.ले बुधवार काठमाडौँको चलचित्र बिकास बोर्डमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ तथा सम्मान कार्यक्रम’ मा उहाँ सम्मानित हुनुभएको हो । नृत्य क्षेत्रको विकास र समृद्धिमा ठूलो भूमिका खेलेको र नेपालका सांस्कृतिक क्षेत्रलाई नयाँ दिशा दिएको कारण उहाँको योगदानको कदर गर्दै उनलाई ‘राष्ट्रिय नृत्य निर्देशक सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
सिन्धुपालचोक जिल्लाको चौतारा साँगाचोकगढि नगरपालिका–९ मा पिता भीमबहादुर गिरी र माता रत्नकुमारी गिरीको कोखबाट जन्मिनुभएएका उहाँ विस. २०५६ सालदेखि नृत्यको क्षेत्रमा अनवरत लागिरहनुभएको छ । उहाँ नृत्य क्षेत्रमा मात्र होइन नृत्य निर्देशक संघ नेपालको केन्द्रीय सदस्यको रूपमा सेवा गरिरहहनुभएको छ भने युरोप शाखाको अध्यक्षको रूपमा यो प्रतिष्ठानलाई थप सशक्त र प्रभावकारी बनाउने कार्यमा निरन्तर व्यस्त हुनुहुन्छ । नृत्य निर्देशक गिरी अन्तर्राष्ट्रिय लोक कला संगठनको सदस्य र नेपाल लोक कला प्रतिष्ठानको केन्द्रिय सदस्यको रूपमा पनि नेपालको सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनका लागि विभिन्न कार्यहरूमा सक्रिय सहभागिता जनाउदै आउनुभएको छ ।
चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु मिडिया प्रालिका प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एवं खानिखोला गाउँपालिका-४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहनुभएको थियो । कार्यक्रममा ‘नारी’ टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती थियो । बिरिसु मिडिया प्रालिका निर्देशक एवंं कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा त्रिशक्ती डान्स ग्रूपका कलाकार, मोडल म्हेन्दो घिसिङ र सिर्जना घिसिङले नृत्य प्रस्तुत गरेका थिए भने गायक कृष्णराज भण्डारीले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको निर्णयक मनोज डंगोल, सिवन पोखरेल र मिन सागर लामा रहनुभएको थियो । कार्यक्रममा सभापतित्व बिरिसु मिडिया प्रालिका अध्यक्ष विवेक लोप्चनले गर्नुभएको थियो । सञ्चारकर्मी कर्म लामा लोले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिती थियो ।






