‘उफ यो मन’ अमेरिकामा प्रदर्शन हुँदै

काठमाडौं,
फागुन १० ।

चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने भएको छ । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६ः०० बजे प्रदर्शन हुने भएको हो ।

दार्जिलिङमा छायांकन गरिएको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा नेपालबाहिर बस्ने नेपालीहरूको मायाप्रेमको कथा समेटिएको छ । चलचित्रलाई पहिलोपटक अमेरिकाबाट प्रदर्शन सुरु गरिएको निर्मात्री शाहले जानकारी गराउनुभयो । ‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्दैछौं, त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भन्नुभयो । बोस्टनपछि अमेरिकाका विभिन्न मुख्य शहरमा चलचित्र प्रदर्शनको तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो ।

अनुराधा फिल्मस् इन्टरनेसनलको निर्माण रहेको यो चलचित्रलाई सुरज चन्दले निर्देशन गर्नुभएको हो । चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समिता गिरी, दीपक क्षेत्री, पुकार गुरुङलगायतका कलाकारको अभिनय छ ।

विगत लामो समयदेखि चलचित्र वितरण गर्दै आउनुभएका चलचित्रप्रेमी, वितरक तथा लोकप्रिय डिजे मुकुन्द पोखरेलले बोस्टनमा चलचित्र प्रदर्शनको व्यवस्थापन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार