काठमाडौं,
फागुन ९ ।
यही फागुन १४ गते अर्थात् महाशिवरात्रिदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘मायावी’को भजन गीतको रुपमा ‘माता विन्दवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको पार्श्व गायन तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ । गीतले विन्दवासिनी माताप्रतिको श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्छ ।
पोखरामा रहेको विन्दवासिनी मन्दिरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता पल शाह भजन गाउँदै देखिनुभएको छ । अभिनेत्री दीपिका प्रसाईं पूजा गर्न मन्दिर आएको परिवेशमा भिडियो तयार पारिएको छ । पल र दीपिकाबीचको प्रेमभाव पनि गीतले व्यक्त गर्छ । अर्की अभिनेत्री करिश्मा श्रेष्ठ नृत्य गर्दै देखिनुभएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल, दीपिका र करिश्मासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिंम्खडा लगायतको अभिनय छ । यो चलचित्रबाट समीम खानले डेब्यु गर्नुभएको छ । अघिल्लो साता सार्वजनिक चलचित्रको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सहनिर्मातामा हुनुहुन्छ । चलचित्रको गीतमा शम्भुजित बाँस्कोटा र एसडी योगीले संगीत दिनुभएको छन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।






