काठमाडौं,
फागुन ९ ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।
नेपालमा सन् २०१० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यसको सुरुवात गरेका हुन् । त्यस निम्ति नेपालस्थित बंगलादेश दूतावास र युनेस्कोको संलग्नता रहँदै आएका छ । नेपालको संविधान, २०७२ मा भएको व्यवस्था अनुसार गठित संवैधानिक आयोगहरू आदिवासी जनजाति आयोग, मधेसी आयोगले समेत मातृभाषा दिवसको सन्दर्भमा मातृभाषासम्बन्धी क्रियाकलाप गर्दै आएका छन् ।
सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रूपमा मातृभाषाको संरक्षणका लागिसंयुक्त राष्ट्र संघको आहृवानमा जागरण स्वरूप मनाइएको थियो । नेपालमा बोलिने भाषा १३१ वटा छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको संख्या १२३ वटा थियो । त्यो संख्या बढेर अहिले १३१ पुगेको हो ।






