मिठाराम र सुनिताको स्वरमा ‘ललितपुरे दाइ’(भिडियोसहित)

ललितपुर,
फागुन ६ ।

मिठाराम केसी र सुनिता थेगिमको स्वरमा रहेको गीत ‘ललितपुरे दाइ’(ललितपुरको चिनारी भाग-२)को भिडियो लोकार्पण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ललितपुरको आयोजना एक विशेष कार्यक्रमबीच उक्त भिडियो लोकार्पण गरिएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष विदुर घिमिरेको सभापतित्व एवं मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यतामा भिडियो लोकार्पण गरिएको थियो । ललितपुर जिल्लाको सामाजिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक महिमाको साथै पारम्परिक सीपको बारेमा बयान गरिएको यो गीतमा मिठाराम केसीको शब्दरचना एवं संगीत र बलराम समालको संगीत संयोजन छ ।

कृष्णभक्त महर्जनको निर्देशन रहेको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को सिनेमाटोग्राफी र सम्पादन छ । भिडियोमा गायक मिठाराम केसी र रिना थापामगरलगायत कलाकारको अभिनय छ ।

साहित्यकार रत्न विरही घिमिरेले सञ्चालन गरेको उक्त भिडियो लोकार्पण समारोहमा संघीय सांसद उदय शमशेर राणा, बागमती प्रदेश सांसद रघुनाथ महर्जन, नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यलगायतको उपस्थिति थियो । भिडियो फूलचोकी कलाकर्मी प्रालि नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार