काठमाडौं,
फागुन २ ।
आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सुरेश न्यौपाने निर्देशित चलचित्र ‘रंगी’ र दीपेन्द्र लामा निर्देशित ‘दुःखी आत्मा’ । दुवै चलचित्रको काठमाडौंमा प्रिमियर गरिएको छ । ‘रंगी’को बुझबार साँझ प्रिमियर गरिएको थियो भने ‘दुःखी आत्मा’को बिहीबार प्रिमियर गरिएको थियो । प्रिमियरमा दुवै चलचित्रले तारिफ बटुलेका थिए । अलग-अलग जनराका यी दुई चलचित्र ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रदर्शनमा आएका हुन् ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’को प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुनुहुन्छ । यो चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ । सुरेश न्यौपानेको यो ‘डेब्यू’ निर्देशन चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ । यो चलचित्र सलोनको डेब्यु निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् । क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्र ‘दुःखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मालगायत कलाकारको अभिनय छ । चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता पनि समेटिएको छ । आलोक शुक्लाले खिचेको यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।






