काठमाडौं,
माघ २८ ।
चलचित्र ‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको नयाँ भर्सन समावेश गरिएको छ । चलचित्र ‘दैव संजोग’ मा समावेश यो गीत फेरि नयाँ भर्सनमा दर्शकमाझ आउने भएको हो । पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो भने नयाँ भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर भर्नुभएको छ ।
गीतको भिडियो जरसिंह पौवामा सेट लगाएर छायांकन गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहको यो गीतमा चलचित्रका मुख्य कलाकार राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गर्नुभएको छ । अभिनेता राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ ।
गीतको भिडियो सय कोरस र त्यति नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रमा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ । यस चलचित्रमा हमाल र खनालले ३२ वर्षपछि सहकार्य गर्दै हुनुहुन्छ । चैतको २९ गतेदेखि सिनेमाघरमा आउन लागेको यो पूर्वमिस नेपाल उषा खड्गीको डेब्यु चलचित्र हो । यही चलचित्रबाट नायक हमाल आठ वर्षपछि पर्दामा फर्किँदै हुनुहुन्छ ।






