मिस एण्ड मिसेस व्युटिफुलको नयाँ संस्करण हुँदै

काठमाडौं,
माघ २५ ।

अविवाहित र विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्युटिफुल नेपालको नयाँ संस्करण पनि हुनेभएको छ । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा विगत नौ वर्षदेखि हुँदै आएको यो प्रतियोगिताको नयाँ संस्करण हुने भएको हो । मिस एण्ड मिसेस व्युटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । पाण्डेका अनुसार अडिसनमा सहभागीबाट नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरूको निर्णायक मण्डलले प्रतियोगिको छनौट गर्नेछ । प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने छन् ।

पाण्डेका अनुसार प्रतियोगिताबाट छनौट भएका प्रतियोगिलाई इन्द्रेणी सुइट होटलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा सम्बन्धित विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधिमासमेत सहभागी गराइनेछ ।

कमलादीस्थित सिटी सेन्टरको फुड कोटमा आयोजित पत्रकार सम्मेलनमा ख्यातिप्राप्त हास्य अभिनेता राजाराम पौडेलले यसखाले प्रतियोगिताले महिला सशक्तीकरणका क्षेत्रमा मद्दत मिल्ने बताउनुभयो । लोकप्रिय गायक आनन्द कार्कीले महिलाहरूको आन्तरिक विकासका लागि मिस एण्ड मिसेस व्युटिफुल नेपाल बलियो प्लेटफर्म भएको चर्चा गर्नुभयो ।

प्रतियोगिताका अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले दुवै प्रतियोगिता सहभागीका लागि जीवनउपयोगी हुने बताउनुभयो । मिसेस व्युटिफुल नेपाल २०२४ विजया अधिकारीले प्रतियोगिताले महिला सुदृढीकरणमा टेवा पुगेको अनुभव सेयर गर्नुभयो । मिस व्युटिफुल नेपाल २०२४ सजिना तामाङले यो प्रतियोगिता महिलालाई आप्mभित्र अन्तर्निहीत प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण अवसर भएको सुनाउनुभयो । प्रतियोगिताबाट शीर्ष उपाधिका साथमा विभिन्न उपउपाधि प्रदान गरिने आयोजक पाण्डेले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार